अर्को जनयुद्धलाई निम्ता नदिन अमरेशको चेतावनी

काठमाण्डु टुडे २०८० जेठ १४ गते १३:२२ मा प्रकाशित

काठमाण्डु ,१४ जेठ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा अर्को ‘जनयुद्ध’ लाई निम्ता नदिन चेतावनी दिएका छन् ।

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सिंहले पहिलेजस्तै विचारलाई निषेध गरिए देशमा पुनः सशस्त्र संघर्ष सुरु हुनसक्ने तर्फ सचेत गराएका हुन् ।उनले यसअघि जनयुद्ध गरेर आएका नेताहरूलाई आफ्नो इतिहास नभुली सत्ताको खेलमा नलाग्नसमेत सुझाव दिए ।

उनले संसदीय समितिहरूमा सबैको प्रतिनिधित्व नगरिएकोमा आपत्ति जनाए । ‘समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुनुपर्छ, त्यो हुन सकेन,’ सिंहले भने, ‘म यसको घोर भर्त्सना गर्दछु ।’

सिंहले देशका प्रमुख पदहरूमा समावेशिता लागू हुन नसकेकोमा पनि दुःख व्यक्त गरे । उनले भने, ‘देशको ऐनाको राष्ट्रपति हो, राष्ट्रिय सभा र संसद्का सभामुख हो, प्रधानमन्त्री हो, राष्ट्र बैंकका गभर्नर, सेना, प्रहरीका प्रमुख हुन् ।

तर त्यहाँ हेर्नुहोस् कुन समुदायको प्रतिनिधित्व हुँदैछ । यही समावेशी सिद्धान्त हो रु यो त ठगी हो । सिंहले अब कर्मकाण्डी तरिकाले राजनीति अघि बढाउँछु भन्ने सोच त्याग्न दलहरूलाई चेताए ।

उनले भने, ‘आज संसद्मा स्वतन्त्र पार्टी र राप्रपा नभएको भए संसद्को गरिमा कायम गर्न धौधौ हुन्थ्यो, किनभने यहाँ बोल्ने मान्छे नै हुँदैन थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us