एमसीसी पास भएपछि नेपालमा अमेरिकी सेना बाक्लियो: झलनाथ खनाल

काठमाण्डु टुडे २०८० जेठ ३ गते १२:०४ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– पूर्व प्रधानान्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको उनले बताएका छन ।

आज बुधबार काठमाण्डुमा आयोजित ३१ औं मदन– आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् ।’

खनालले अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको भन्दै नेपाललाई खेलमैदान बनाउन खोजिएको आरोप लगाएका छन ।उनले भने, ‘के स्वार्थ छ ? यसमा नेपालीले बुझ्नुपर्छ ।

हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ?’ उनले थपे, ‘नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

अर्को फरक प्रशंगमा उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us