
काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ ।
आजै उक्त विषयबारे प्रष्ट पार्नेगरी मन्त्रालयले विज्ञप्ति जारी गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन । आज (शनिबार) बिहान धनुषा पुगेका गृहमन्त्री लेखकले त्यहाँस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका क्रममा यसबारे जानकारी गराएका हुन् । गृहमन्त्री लेखकले भने, ‘ट्वीटरमा लेख्ने के के काम भइरहेका छन् ।
म दुई तिन दिन चुपो लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने बुझिरहको थिएँ, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ ।’ उनले यो विषयमा आफूले पार्टीपंक्तिको टाउको निहुराउने काम नगरेकाले चिन्ता लिनुपर्ने विषय नभएको पनि बताएका छन ।
उनले भने, ‘यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने केही कुरा छैन । मैले जीवनभरी राजनीति गरेर कुनैपनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ, जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ ।’ यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको छ ।
आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् । कतिपय अधिकारीहरूले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको समेत बताएका छन ।