
काठमाण्डू, १० जेठ– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डू महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाण्डू महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई हिजो (शक्रबार) पक्राउ गरेको हो ।
पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५५ लाख रुपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाण्डू महानगरपालिका–२६ नयाँ बसपार्कबाट र प्रविनलाई काठमाण्डू महानगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।