
काठमाण्डु, १ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा फड्को हान्ने गरी काम नगरे आम नागरिकको अवस्थामा परिवर्तन नहुने बताएका छन ।
आज (सोमबार) पार्टी निकट निजामती कर्मचारी संगठनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले अब सामान्य सुधारले मात्र नपुग्ने भन्दै आमूल सुधार आवश्यक पर्ने बताएका छन ।
उनले भने, ‘हरेक क्षेत्रमा रेडिकल रिफर्म भन्न मन पराउँछु म, आमूल सुधार, सामान्य सुधार होइन’ ‘संरचनात्मक रुपान्तरणको आवश्यकता देखिएको छ।’
उनले राजनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि भए पनि त्यसै अनुसार नागरिकको आर्थिक र सामाजिक रुपान्तरण हुन नसकेको बताएका छन । उनले भने, ‘यसले जनतामा निराशा पैदा भएको साँचो हो ।
हामीले व्यवस्था बदले पनि अवस्था बदल्न केन्द्रित हुन सकेनौं । यसका लागि सबै क्षेत्रमा फड्को मार्ने किसिमले काम नगरी आम नागरिकको अवस्थामा परिवर्तन हुने देखिएको छैन’ ।
उनले यस वर्षको बजेटबाट प्रभावकारी हुन नसकेका कार्यक्रम खारेज गरेर नयाँ कार्यक्रम ल्याउने बताएका छन । उनले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढ्ने भन्दै उनले आउँदो शरद ऋतुमा पर्यटन क्षेत्र कोरोना महामारी अगाडिको अवस्थामा फर्किने दाबी पनि गरे ।