केपी ओलीको प्रश्न– सोझै पैसा बुझ्नेलाई छाड्ने, टोपबहादुरलाई किन पक्राउ पुर्जी ?

काठमाण्डु टुडे २०८० वैशाख २८ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन ।

उनले सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भन्दै उनले प्रश्न गरेका छन् । आज बिहिबारबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै आलीले यस्तो बताएका हुन ।

ओलीले भने, ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’

उनले थपे, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’तर आफूले टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भनेर आफूले नसोचेको उनले बताएका छन ।

उनले भने, ‘मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ । पछि पो मैले सुनें प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यसकारण अदालतमै उपस्थित हुने विचार गरें भनेर उहाँले भन्नुभयो भन्ने मैले सुनें ।’

उनले टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर त्यसअनुसार व्यवहार नभएकाले उनलाई अनुसन्धानमा सहयोग गर्न भनिएको बताएका छन ।

आलीले उनी निकटका मान्छेले आफूलाई फोन गर्दा आफूले प्रहरीमा उपस्थित भएर सामना गर्नुस् र अनुसन्धानमा सहयोग गर्नुस् भनेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us