मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० वैशाख २३ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव सेवा आश्रमुप्रति भित्रैदेखि सम्मान र अभिनन्दन व्यक्त गर्नुभएको छ।

आज (शनिबार) वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगी सहभोज गर्नुका साथै उहाँले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिनुभएको थियो।

उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० बर्षदेखि सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त राष्ट्रु जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी संचालन गर्न सकेकोमा उहाँले खुसी प्रकट गर्नुभयो।

आश्रमले २०८२ सम्ममा सडक मानव मुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएको छ। हाल देशभरीका २३ आश्रममा १६ सयभन्दा बढी आश्रीतहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका थिए।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रीतहरूलाई खोजीखोजी आश्रय दिने गर्दछ।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र नेपाल सरकारको सम्पुर्ण साथ रहने प्रतिबद्धता समेत उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो।

आश्रमलाई सहयोग गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफुले आज वा भोलि कार्यसूची नै बनाएर छलफल गर्ने र प्रधानमन्त्री स्वयंले पनि राष्ट्रिय संवेदनाका यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिनुभएकोले आश्रमको गतिविधिलाई थप उचाइमा पुर्‍याइने बताउनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us