प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारको तेस्रो दिन पनि प्रदर्शन

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १६:१७ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आज मंगलबार तेस्रो दिन पनि नेपाल बार एशोसिएशनले विरोध प्रदर्शन गरेको छ ।

नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरेको हो । अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन ।

उनले भने, ‘बार एशोसिएसनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ । त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन सुरु गर्नेछ।’

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us