हामी सडकमा गर्जियौं भने स्यालहरु लखेटिन्छन्: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० वैशाख १८ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन ।

उनले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताएका छन ।

माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले परिवर्तनका उपलब्धिहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको बताएका छन ।

उनले शहीदहरुलाई शहीदका रुपमा सम्मान गरिनुपर्छ भन्दा प्रहार भएको र अयोग्य लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको बताएका छन ।

उनले भने, ‘मैले आफ्नै आविष्कारबाट निर्णय गरेको होइन, अर्कै सरकारले निर्णय गरेको एउटा परिस्थितिमा सर्वोच्च अदालतले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिनू भनेपछि त्यही फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइयाँ मच्चाउन खोजिएको छ ।’

उनले नकारात्मक वातावरण बनाएर सम्पूर्ण त्यागलाई अपमानित गर्ने र उल्ट्याउने षड्यन्त्र अझ अगाडि जानसक्ने समेत बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी नगर्जिंदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाइँ गर्ने जस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिंदैन ।’

उनले आफ्नो कतै कमजोरी भएर आत्मसमीक्षा गरेर करेक्सन गर्नुपर्ने भए पनि जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धिमाथि नै हुने प्रहार स्वीकार्य नहुने बताएका छन ।

उनले अब छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भन्दै उनले परिवर्तन उल्ट्याउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । ‘जरुरी पर्छ भने फेरि एकचोटि त्याग र संघर्षको कीर्तिमान बनाउन तत्पर छौं, तर यो स्यालहुइयाँ सहन तत्पर छैनौं भन्ने घोषणा गर्नुपर्नेछ’, उनले भने ।

उनले आफु प्रधानमन्त्री भएपछि आफूले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेको बताएका छन । श्रमिकहरुको हक अधिकारका लागि काम गरेको र सामाजिक सुरक्षा कोषबारे ऐतिहासिक निर्णय गरेको उनले दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us