ओलीलाई पूर्वराजा शाहको जवाफ: आस्था र मयार्दामा आँच नपुर्‍याइयोस्

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १४:२६ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरीएको छ ।

ओलीले हिजो बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको बताएका थिए ।

आक्रोश पोख्दै ओलीले भनेका थिए, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् ।

ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फुरफुर नगर । बर्ता फुरफुर गने होइन ।

हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताब गरेका छैनौँ ।

हिसाब किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर ! ’ ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका थिए ।

उनले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरूले नगरेर त्यसै छाडेको पनि बताएका थिए ।

तर, पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह, हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको बताएको छ ।

यसबारे सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकिएको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us