
काठमाण्डू, ४ असार– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुई पटक चोरी गर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ ।
उक्त रेडपाण्डाको शनिबार चिडियाखानाभित्रै मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एक अधिकृतले जानकारी दिएका छन । ‘चिडियाखानाभित्र रहेको अस्पतालमै मृत्यु भएको छ, पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन भन्ने सुनेका छौं’, ती अधिकृतले भने, ‘हाम्रो अनुसन्धान पनि चलिरहेको छ ।’
चिडियाखानाका प्रमुख सत्यनारायण शाहले चोरी प्रयासयता विरामी रहेको रेडपाण्डाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । ‘चोरीको प्रयास भएपछि एकदमै त्रसित थियो, पछिल्लो पटक किड्नी सम्बन्धी समस्या पनि देखिएको डाक्टरहरुले बताएका थिए’, उनले भने, ‘करिब एक हप्ताजति खाना नियमित थिएन ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि चिडियाखानाबाट रेडपाण्डा चोरीको प्रयासबारे आन्तरिक छानबिन गरिरहेको थियो । स्रोतका अनुसार, कर्मचारीको लापरबाहीका कारण दोस्रो पटक समेत चोरी प्रयास भएको प्रारम्भिक बुझाइसहित छानबिन समिति गठन भएको थियो ।
कोषका प्रशासन विभाग प्रमुख हरिविक्रम सिंहको नेतृत्वमा रहेको तीन सदस्यीय समितिले चिडियाखानाका कर्मचारीहरुबारे छानबिन गरिरहेका बेला रेडपाण्डाको मृत्यु भएको हो ।
समितिमा कोषका प्रवक्ता अम्बिकाप्रसाद खतिवडा र प्रशासनकै सिद्धराज तिम्सिना सदस्य छन् । समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरिरहेका बेला रेडपाण्डाको मृत्युको खबर थाहा भएको कोषका अधिकारीहरु बताउँछन् ।