
काठमाण्डु, १२ वैशाख– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले किसानलाई समयमा मल नदिने तर भारतबाट विषादी मिसिएको चामल दाल आयात गर्ने गरेको बताएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद सुवालले मल पर्याप्त रहेको जानकारी दिने तर किसानको हातमा किन नपुर्याएको भन्दै प्रश्न गरेका छन ।
उनले भने,‘रासायनिक मल खरिदका लागि सरकारले १६ अर्ब ५० करोड पशुपक्षी तथा कृषि मन्त्रालयलाई अझै निकासा पठाएको छैन । परिणाम किसानले बर्खे बाली लगाउन नपाउने स्थिति छ ।
विषादी भएको दाल चामल खाद्यान्न भारतबाट ल्याएर खुवाउन यो गठबन्धन सरकार बनाइएको हो र ?’ उनले कृषि सामग्री कम्पनीसँग युरिया मल ३७ हजार मेट्रिकटन, डिएपी १९ हजार मेट्रिकटन, साल्ट टे«डिङसँग युरिया र डिएपी २१ हजार मेट्रिकटन भएको सार्वजनिक भएपनि देशभरका किसान मल नपाएर चिन्तामा रहेको बताए ।
समयमै किसानको हातमा मल नपुर्याई कम्पनी र कर्पोरेशनको गोदाममा मल कुहाउने यो सरकार किसान विरोधी किन हैन भन्दै प्रश्न गरेका छन । उनले ख्वप विश्वविद्यालय विधेयक पारित नगर्ने तर निजी खर्चमा विद्यार्थीलाई विदेश पठाउँनेहरु कसरी प्रजातन्त्रवादी र गणतन्त्रवादी होलान् भन्दै प्रश्न गरेका छन ।
उनले सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच संसदीय समिति भागबण्डामा सहमति भएको विषय सार्वजनिक भएको बताउँदै यस्तो प्रक्रिया प्रजातन्त्र विनासको संकेत भएको बताएका छन ।