पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो: देउवा

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको बताएका छन ।

संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन ।

बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण गरीएको बताएका छन ।सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको थियो । बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए ।

सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा भएको छ । बैठकमा उठेका विषयबारे एक सांसदले भने,‘गोविन्द भट्टराई सांसद नभए पनि क्षेत्रमा विकासका कार्यमा सधैं लागिरहनुभएको छ,’, ‘६७र६८ स्थानमा पानी खुवाएको व्यक्तिलाई हराइयो ।’

विकासका कार्यमा लागिरहेको व्यक्ति भए पनि पुराना दलले जित्न नसकिने अवस्था निर्माण भएको चिन्ता बैठकमा गरिएको ती सांसदले जानकारी दिएका छन ।

नयाँ दलले गरेको प्रचार अभियानका अगाडी कांग्रेस कमजोर भएकाले पनि पराजित हुनुपरेको नेताहरुले बताएका छन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका लागि स्रोत र साधनको अभाव रहेको सांसदहरुलाई बताएका छन ।

बैठकमा सहभागी अधिकांश सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us