
तनहुँ, १२ वैशाख– आइतबार सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट पराजित काँग्रेस उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् ।
वाग्ले फराकिलो मतान्तरले विजयी भएपछि भट्टराईले उनलाई बधाई दिएका हुन् । वाग्लेले ३४ हजार ४ सय ८० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी भट्टराईले २० हजार ९२ मत प्राप्त गरे । आफूले मतदाताको विश्वास जित्न नसकेको र वाग्लेले जितेको उनले बताए ।
भट्टराईले निर्वाचनमा सौहार्द प्रतिस्पर्धा भएको उल्लेख गरे । ‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई । चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो,’ उनले सामाजिक सञ्जालमार्फत बधाई दिँदै भनेका छन्, ‘संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाइँले सक्नुभयो ।’
उनले आफूप्रति विकासका अपेक्षा राखेका मतदाताको विश्वास पनि अब वाग्लेकै अभिभारा बन्न पुगेको उल्लेख गरे । विगतमा आफूले पदको सपना नदेखे पनि क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको भन्दै अब पनि खटिरहने बताए ।
मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा वाग्लेलाई रचनात्मक सहयोग । खबरदारीपूर्ण साथ रहिरहने उनको भनाइ छ । मतदाताका धेरै ठूलो अपेक्षा र भरोसा रहेकाले पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न वाग्लेलाई शुभामना दिए ।