समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक: पोखरेल

काठमाण्डु टुडे २०८० वैशाख ९ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– एमाले महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन ।

देशको विद्यमान अवस्थालाई बदल्न र बलियो राष्ट्रिय शक्ति बनाउन राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका छन । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पोखरेलले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकने बताएका छन ।

धेरै राजनीतिक दलहरु हुँदा नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी गर्नुपर्ने भन्दै उनले वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै हुने बताएका छन ।

उनले सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको बताएका छन । उनले भने, ‘आज नेपालमा जति पनि राजनीतिक दलहरु छन्, त्यसको कारण नै के हो भने जनमत विभाजित हुनु ।

प्रधानमन्त्री, मन्त्रीहरु फेरिरहनु, कसैले दिगोगरी काम गर्ने वातावरण प्राप्त गर्न नसक्नु, यही कारणले गर्दा मुलुक बन्न सकेको छैन ।’

उनले बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने बताएका छन । उनले नेकपा एमाले यही मान्यताका आधारमा नेपाल र नेपालीलाई बलियो बनाउन क्रियाशील रहेको बताउँदै उनले भने, ‘बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै हामीले राजनीतिक स्थायित्व हासिल गर्न सक्दछौँ ।

विकास र समृद्धिको यात्रा अगाडि बढाउन सक्दछौँ ।’ उनले नेपाल राजनीतिक दलहरु राज्यका विद्रोही होइनन् राज्यका निर्माता हुन् भन्ने मान्यताका आधारमा अगाडि बढ्नु जरुरी रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us