निजी क्षेत्र नियन्त्रण गर्ने कानुन बनाउँदैनौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउनुपर्ने बताएका छन ।

आज (शुक्रवार) दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई समेत दिएका छन । त्यस क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा सङ्कट आएको बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाउने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us