
काठमाण्डु,५ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईरमधेस द्रुतमार्गको निर्माण कार्य द्रुतगतिले भइरहेको बताएका छन ।
आज मंगलबार तराईरमधेस द्रुत मार्गको निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले काम राम्रै भएको महसुस भएको बताएका छन ।
उनले भने, ‘हामी निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस गरौँ । टनेलभित्र गएर पनि हेरौँ । ठुलो टनेलहरू बन्दै छन् । हिजो मात्र काठमाण्डुमा ब्रिफिङ भएको थियो ।
कोभिडका कारण दुई ढाइ वर्ष काम खेर गएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएकै हो । अब द्रुतमार्ग अब द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौँ ।’
उनले द्रुतमार्गसँग सम्बन्धित कतिपय निर्णयहरू आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने बताएका छन । उनले द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सँग सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्ने बताएका छन ।
उनले भने, ‘फास्ट ट्र्याक निर्माणको जिम्मा कसलाई दिने भन्ने देशमा ठुलो बहस थियो । त्यति बेला पनि म प्रधानमन्त्रीको जिम्मेवारीमा थिएँ । मैले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानलाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको थिएँ ।
यसको शिलान्यास पनि निजगढमा मैले नै गरेको थिएँ ।’ उनले आज निर्माण प्रक्रियाले तीव्रता लिँदै गर्दा यसको अवलोकन गर्दा गर्वको महसुस भएको बताएका छन । ७२ किलोमिटर लम्बाइको तराईरमधेस द्रुतमार्गमा अहिले ४६ किलोमिटरमा ठेक्का लागेर काम भइरहेको छ ।