
काठमाण्डु, ४ वैशाख– नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित तीन वटा जहाज किन्ने भएको छ । सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिएका छन । दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरीद गर्ने गरी उपसमितिले सिफारिस गरेको पौडेलले जानकारी दिएका छन ।
निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने भएको उनले बताएका छन । जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जानकारी दिएको छ ।
अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध छ । निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ ।
निगमले नयाँ जहाज खरिद गरी दुर्गम भेगमा सेवा दिँदा पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने बताएको छ ।