
काठमाण्डु,४ वैशाख– प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।
पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज सोमबार बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन ।
ओली निवास बालकोटमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको भन्दै न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भनेर प्रधानमन्त्री प्रचण्डले छिटो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेको बैठकपछि नेता लेखकले जानकारी दिएका छन ।
सो प्रस्तावमा संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउन भनिएको लेखकले बताए । प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउने छन् ।
बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिएका छन ।
प्रधानन्यायाधीश नियुक्तिका लागि एमालेको तर्फबाट सहयोग रहने बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।