
काठमाण्डु, २२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरीएको छ ।
रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी गरीएको छ ।
आज (बुधवार) निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए ।
मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग गरेका छन ।
आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकता पेश गरी पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।