
काठमाण्डु, २२ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको मसिहा भन्नेहरूले मधेसी जनता ठग्नेबाहेक केही नगरेको बताएका छन ।
आज (बुधवार) बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ओलीले एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने बताएका छन ।
उनले मधेसमा हुलाकी राजमार्ग कसले बनायो भन्दै प्रश्न समेत गरेका छन । उनले भने, ‘मधेसमा हुलाकी राजमार्ग कसले बनायो ? मधेसका मसिहा त धेरै देखिए तर मधेसका कुनै पनि मसिहाले मधेसका जनता ठग्ने बाहेक केही गरेनन् ‘बनाउन त एमालेले बनायो ।
एमालेको सरकार भएर हुलाकी राजमार्ग बनेको हो । मधेसीको पहाडीको सरकारले होइन ।’ उनले जसपाका अध्यक्ष उपेन्द्र यादव मोरङ, सुनसरी, सप्तरी हुँदै सिधा जनता देखेर बारा आएको बताएका छन ।
उनले भने, ‘उहाँले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला । उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथमा लिएर हिँड्यो ।
माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै हुँदै गयो’, ओलीले यादवप्रति कटाक्ष गर्दै भने, ‘दिउँसो रुद्राक्षको माला जपेको छ, बेलुका बेलुका भुत्ल्याउनु पनि परेन जिउँदै त्यो खालको भूमिका पनि देखियो ।
कुरा हामीसँग राम्रो गर्नुहुन्छ, षड्यन्त्र अन्त गएर गर्नुपर्छ । अहिले उहाँ देश लुट्न बनेको दश दलीय गठबन्धनको एक सदस्य हुनुहुन्छ उहाँ ।’
अध्यक्ष ओलीले सबल र बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेलाई साथ दिन बारा–२ का मतदातालाई आग्रह गर्दै एमाले आउँदा सेल्फी खिच्न नभई बाटो बनाउन, घर बनाउन र सिँचाइ गर्न आउने गरेको बताएका छन ।