चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाण्डु टुडे २०७९ चैत १८ गते १५:५८ मा प्रकाशित

काठमाण्डु,१८ चैत– १० वैशाखमा हुने उपनिर्वाचनका एमालेले लागि २ क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । आज (शनिबार) बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।

बैठकले चितवन–२ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन ।

बारामा भने एमाले उम्मेदवार छानेको छैन । बाराको उम्मेदवारबारे छलफल गरेर टुङ्ग्याउने एक नेताले जानकारी दिएका छन । ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा खनाल काठमाण्डु–६ बाट उनी पराजित भएका थिए ।

उनको पुर्ख्यौली घर तनहुँको भानु नगरपालिका हो । खनाललाई एमालेले दोस्रो पटक उम्मेदवार बनाउन लागेको हो । १० वैशाखमा चितवन– २, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।

चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उक्त क्षेत्र खाली भएको थियो । त्यस्तै बारा २ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपति र तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको थियो । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us