
काठमाण्डू, २६ असार– म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालक मृत अवस्थामा फेला परेका छन । म्याग्दीको मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५ वर्षीय जगेन्द्र विकको समेत पहिरोले पुरेर मृत्यु भएको थियो भने बालक बेपत्ता थिए । शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो १ः२५ बजेतिर बेपत्ता सरोजको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलले जानकारी दिएका छन ।
बुधबारको पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु समेत बगाएको थियो । मंगलबार रातिदेखिको वर्षाले पहिरो खसेको सूचना अधिकारी एवं इन्स्पेक्टर पौडेलले जानकारी दिए । मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी पहिरोका घटना बढेको प्रहरीले जनाएको छ ।