
काठमाण्डु,१८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन चालू संसद अधिवेशनबाटै पारित गर्नुपर्ने बताएका छन ।
उनले संघीयता कार्यान्वयनको कामलाई गति दिनका लागि पनि सरकारले सो विधेयकलाई चालू संसद अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको बताएका छन ।
आज शनिबार राष्ट्रिय खेलकुद परिषदले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘अहिलेको सरकारको ध्यान संघीय निजामती ऐन बनाउने र अन्य समायोजनसँग सम्बन्धित ऐनहरु पनि बनाएर अगाडि जाने कुरामा दृढ छ, ‘संघीय निजामती ऐन अन्तिम चरणमा छ ।
मेरो कोशिस छ– यही सदनमा यसलाई प्रस्तुत गर्ने र त्यसलाई पारित गरेपछि अहिलेका धेरै अन्यौलहरु समाप्त हुन्छन ।’ उनले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरु नहुँदा अहिले संविधानले अंगीकार गरेको मर्म र भावना अनुसार संघीयता कार्यान्वयन नभएकाले अब सो ऐनहरु बनाएर अगाडि जाने कुरामा सरकार दृढ रहेको बताएका छन ।