मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, तीन बजे मन्त्रीहरुको सपथ

काठमाण्डु टुडे २०७९ चैत १७ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, १७ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

बालुवाटार श्रोतका अनुसार राष्ट्रपति कार्यालयले मन्त्रीहरुको सपथका लागि अपराह्न ३ बजेको समय मागेको छ । प्रधानमन्त्रीले त्यसअघि नै आफ्नो दलको भागमा परेका मन्त्रालयमा नियुक्त गर्ने मन्त्रीको नाम मागेका छन् । नेपाली काँग्रेसबाहेक सत्ता घटकका अरु दलले मन्त्रीको नाम बुझाउन बाँकी छ ।

प्रधानमन्त्रीले यसअघि बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित गठबन्धन दलका अन्य नेताहरुसँग मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गरेका थिए ।

सत्तारुढ दलहरुबीच कांग्रेसले ८, प्रधानमन्त्रीको दल माओवादी केन्दले ५, जसपा र एकीकृत समाजवादीले २÷२, जनमत पार्टीले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक/एक मन्त्रालय लिने लिने सहमति छ । एमाले र राप्रपाले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीलाई राजीनामा गर्न लगाएपछि प्रधानमन्त्रीले ६ चैतमा दोश्रोपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

त्यसयता प्रधानमन्त्रीले १६ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us