माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश

काठमाण्डु टुडे २०७९ चैत १५ गते १२:२५ मा प्रकाशित

काठमाण्डु,१५ चैत– माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टीमा प्रवेश गरेको उनले बताएका छन । आज बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

४ मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा– २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ १० वैशाखमा उपनिर्वाचन हुँदैछ । कुसवाहले अब बारा–२ मा १० वैशाखमा हुने उपनिर्वाचन लड्ने तयारीमा रहेका छन ।

आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको उनले बताएका छन ।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् । पत्रकार सम्मेलनमा कुसवाहले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने बताएका छन ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी जनताको मात्र नभई नेताको समेत उद्धारकर्ता भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us