
काठमाण्डु,१४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग सरकारले पुरा गर्नैपर्ने बताएका छन ।
आज (मंगलबार) बानेश्वर पुगेर पीडितहरूलाई भेट्दै उनले यस्तो बताएका हुन । खनालले भने, ‘तपाईंहरूका माग जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ ।
यो अन्याय सच्चिनुपर्छ ।’ उनले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने पनि बताएका छन । उनले मिटरब्याजीहरुले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताएका छन ।
उनले भने, ‘म प्रधानमन्त्री प्रचण्डलाई पनि मिडियामार्फत भन्छु कि पीडितहरूका माग अविलम्ब पुरा गरियोस्,’ । उनले आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पनि यो कुरा गर्ने भन्दै सरकारले पीडितहरूले माग सुन्नै पर्ने बताउका छन ।