पहिचानवादी र प्रहरीको झडपमा कम्तीमा १५ जना घाइते

काठमाण्डु टुडे २०७९ चैत १४ गते १६:११ मा प्रकाशित

काठमाण्डु,१४ चैत– विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएकान छन ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । प्रहरीको पक्षबाट झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् ।

यता आन्दोलनकारी तर्फ पनि ९ जना घाइते भएको बताइएको छ । आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन ।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बन्न पुगेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढु‌गामुढा गरेका थिए ।

झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यत भएको छ ।युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो ।

त्यहाँ प्रदेश–१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको छ । सांसदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउमा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us