
काठमाण्डु,१४ चैत– इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना उतीर्ण भएका छन । आज (मङ्गलवार) इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना उतीर्ण भएको जानकारी दिएको छ ।
परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरूमध्ये ५६५ जना परीक्षार्थीहरुमात्रै उतीर्ण भएको काउन्सिलका अध्यक्ष पदम साहीले जानकारी दिएका छन । उनले परीक्षा चैत्र १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको उनले बताएका छन ।
उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको पनि बताएका छन । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो ।
उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपाल भर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले जानकारी दिएको छ । उनले भने ‘हाम्रो ऐन अनुसारले हामीले नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ काम गर्नको लागि इन्जिनियरहरूले दर्ता गर्नुपर्ने सिस्टमको लागि दर्ता गर्नुपर्ने इक्जाम जुन थियो, त्यो हामीले यही १२ र १३ गते लिएका थियौँ ।
यसमा १९८१ जना विद्यार्थीहरु उपस्थित रहनुभएको थियो । जसमा ५६५ जना पास हुनुभएको छ । त्यसमध्ये धेरैजसो २० वटा विधामा जाँच भएकोमा सबैभन्दा धेरै सिभिल इन्जिनियरिङमा ११५३ जना हुनुहुन्थ्यो ।
यो नतिजा लगभग साढे २८ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । उत्तीर्णाङ्क ५० प्रतिशत हो ।’ इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको उनले बताएका छन ।
इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरूसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहेका थिए ।
तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू गरेको छ ।