सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ: महेश बर्तौला

काठमाण्डु टुडे २०७९ चैत १४ गते १४:३३ मा प्रकाशित

काठमाण्डु,१४ चैत– एमालेका सचेतक एवं संसद महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन ।

सचेतक बर्तौलाले प्रतिनिधिसभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिङ्गो संसद्ले विश्वास गर्नुपर्ने बताएका छन । आज (मंगलबार) न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।

प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु उनीहरूको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्ने बताएका छन ।

उनले भने – ‘माननीयहरूले राखेको विषय उहाँहरूको सार्वभौम अधिकारको कुरा हो । हामी सबैले बुझ्न के पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस । हेड अफ द इन्स्टिच्युसन ।

शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका । प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिङ्गो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो ।

किनभने उहाँ रेफ्रीको भूमिकामा हुनुहुन्छ । रेफ्रीले कतिबेर सिठी बजाउने भन्ने कुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रीको पर्फमेन्स के हुन्छ ? सिङ्गो खेलको अवस्था के रहन्छ रु त्यसकारण जब हाउसको विषय रहन्छ, सभामुख एउटा रेफ्री हो ।

रेफ्रीले निष्पक्षता, तटस्थताको आधारबाट भूमिका निर्वाह गर्नुपर्छ । यदि त्यस प्रकारको भूमिका निर्वाह गर्नको लागि जे संवैधानिक अधिकारहरू छ ।

हामीले हिजो व्यवस्था गरेका अधिकारहरू छ, त्यो अधिकारलाई कुण्ठित गर्ने गरी, हातखुट्टा बाँध्ने गरी अर्थात् कार्यव्यवस्था परामर्श समितिमा परामर्श गरेर होइन कि सबै निर्णय गरिदिएर त्यो निर्णय बमोजिम मात्रै सभामुख आसनमा रहने, रेस्टरुम निस्किन पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट भन्ने आशयबाट हामी जान थाल्यौँ भने संसदीय मूल्य, मान्यता, यसको गरिमा र संस्कृतिमा र सिङ्गो हाउसको प्रभावकारितामा गतिरोध निर्माण हुन्छ ।’

सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us