
काठमाण्डु,१४ चैत– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।
उनले आज मंगलबार ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गर्न माग गरेका छन । शर्माले लेखेका छन् , ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन ।
प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, ।
७ चैतमा ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्काले नाराबाजी गरेका थिए ।
उनीहरुलाई अभद्र व्यवहार मुद्दामा काठमाण्डु प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा ५ हजार धरौटी तोकेका थिए । तर धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका छन् ।