एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्न सक्छु: भीम रावल

काठमाण्डु टुडे २०७९ चैत १४ गते ११:११ मा प्रकाशित

कैलाली,१४ चैत– एमाले नेता डा. भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने सक्ने बताएका छन । उनले एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने बताएका छन ।

उनले त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने बताएका छन । आज मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ ।

तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

अछाममा जिल्लामा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको भनेर लगाएको आरोपबारे पनि उनले पत्रकार सम्मेलनमार्फत् जवाफ दिएका छन ।

उनले एमाले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिइएको बताएका छन । उनले भने, ‘यदि मलाई विष्णु पौडेलले म आउँदैछु भनेको भए निश्चित रुपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ ’ ।

पौडेल सहभागी सार्वजनिक कार्यक्रमका एमालेका एक नेताले भीम रावलले एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका विभिन्न नेताहरुसँग भेटेको र गुटबन्दी गरेको बताएका थिए ।

त्यसपछि कार्यक्रममा सहभागी रावलका समर्थकहरुले होहल्ला गरेका थिए । केहीबेरपछि एमाले उपाध्यक्ष पौडेलले रावलले पार्टीले दिएको जिम्मेवारी अस्वीकार गरेको र पार्टीमा असहयोग गरेको आरोप लागाएका थिए ।

पत्रकार सम्मेलनमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई र माधव नेपाललाई भेट्न हुने तर आफूले अरु पार्टीकालाई भेट्न नपाउने भन्ने नहुने भन्दै प्रश्न गरेका थिए । उनले भने, ‘केपी शर्मा ओली र विष्णुप्रसाद पौडेल स्वयंले कोटेश्वरमा गएर माधव नेपाल जीसँग वार्ता गर्नुभाछ । अरु साथीहरुले पनि गर्नुभाछ ।

पार्टी अलग बनाएर गइसक्नु भएका माधव नेपाललाई राष्ट्रपति बनिदिनुस्, पार्टी मिलाऔं भन्दा पनि मिल्ने, प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि मिल्ने अनि मैले यहाँ कोही मान्छेसँग भेटेपछि भीम रावल त समाजवादी भइसक्यो भन्ने ? राजनीतिमा यस्तो पनि हुँदोरहेछ हाम्रो देशमा ।’

उनले पार्टी निर्माणमा निरन्तर पसिना बगाएको, जेलनेलको सामना गरेको, स्वदेश र प्रवासमा संगठन विस्तार गरेकाहरुलाई आफूले भेटेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us