मेरो भ्रमणलाई सवारी नभनिदिनुहोला : राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०७९ चैत १२ गते १६:४३ मा प्रकाशित

काठमाण्डु ,१२ चैत -राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् ।

आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौं ।’सवारी शब्दको ठाउँमा आवागमन शव्द प्रयोग गर्न उनले सुझाए ।

गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएको समेत बताए ।

राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उनले बताए । नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाण्डु बाहिरको पहिलो भ्रमण ऐतिहासिक र धार्मिक महत्वको जिल्ला गोरखामा गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us