नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाण्डु टुडे २०७९ चैत १० गते १७:१२ मा प्रकाशित

काठमाण्डु, १० चैत– नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन ।

उनलाई आज शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा रहेका थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएपछि महानिरीक्षक धिरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गरेका थिए ।

गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए । कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए ।

एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए । अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाण्डुबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us