नेपालको साक्षरता दर ७६ प्रतिशत

काठमाण्डु टुडे २०७९ चैत १० गते १५:१२ मा प्रकाशित

काठमाण्डु,१० चैत– राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । महिलाको साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम रहेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत रहेको छ । ०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।

जनगणना २०७८ नुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी २८।७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) मात्र उत्तीर्ण गरेका छन् । निम्न माध्यामिक तह (कक्षा ६ देखि ८ सम्म) मात्र उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् ।

एस.एल.सी।. वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरु ९.५ प्रतिशत देखिन्छन् । यसैगरी एस.एल.सी। भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् ।

सोल्टी होटलमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । नेपालमा वि.सं. १९६८ साल देखी हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us