
काठमाण्डु,१० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् ।
आज (शुक्रबार) विश्व क्षयरोग दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन । उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दै भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु ।’
उनले विगतमा क्षयरोगबाट ज्यान गुमाएका परिवारमा समवेदना पनि व्यक्त गरेका छन । प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने पनि बताएका छन ।
प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गर्ने बताएका छन ।