
काठमाण्डू, ४ असार– कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेलधुरा घर भएका कैदीबन्दीको मृत्यु भएपछि डडेलधुरा बजारमा तनावको स्थिति सिर्जना भउको छ । मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजार बन्दसहितको आन्दोलन सुरु गरिएको हो ।
भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश सिंह पालीको सोमबार सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बैंकिङ कसुरमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
तर, उपचारकै क्रममा उनको मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिएका छन । प्रहरीका अनुसार पालीलाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो । सेती अस्पतालमा उपचारको क्रममा उनको ज्यान जोगाउन सकिएन। मृतकको शव अहिले अस्पतालकै शव गृहमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उता, पालीको मृत्युप्रति असन्तुष्टि जनाउँदै डडेलधुरा बजारमा मंगलबार बिहानैदेखि यातायात, व्यापार र अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ । उद्योग वाणिज्य संघ डडेलधुराको अगुवाइमा स्थानीयले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् ।
संघले मृत्युलाई शंकास्पद भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। आन्दोलन जारी रहने जनाउँदै संघले दोषीमाथि कडा कारबाहीको माग समेत अघि सारेको छ।