एसईई परीक्षाको तयारी पूरा

काठमाण्डु टुडे २०७९ चैत ८ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, ८ चैत– १७ चैतदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा ९(एसईई)को लागि सम्पुर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले जानकारी दिएको छ ।

यसवर्षको एसईई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन । उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्‍नपत्र पुर्‍याइसकिएको परीक्षा नियन्त्रक श्रेष्ठ जानकारी दिएका छन ।

यो वर्ष ५ लाख १६ हजार ५९५ जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएका छन । हरेक जिल्लाको जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमन गर्ने काम गर्नेछ ।

सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले प्रदेश भित्रको परीक्षालाई स्वच्छ, मर्यादित, व्यवस्थित ढंगबाट समन्वय गर्ने काम गर्नेछ ।

सबै शिक्षा विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाई र पालिकासँग समन्वय गरेर परीक्षाको मर्यादालाई कायम राख्न पहल गर्न अनुरोध गरिसकेको कार्यालयले जानकारी दिएको छ ।

गत वर्ष एसईई परीक्षाको लागि ५ लाख १४ हजार ९५५ ले रजिष्ट्रेशन भरेका थिए जसमध्‍ये ४ लाख ९५ हजार ७५१ जनाले परीक्षा दिएका थिए । यो वर्ष पनि रजिष्ट्रेसन फारम भर्ने संख्याभन्दा परीक्षामा सहभागी विद्यार्थीको संख्या कम हुने परीक्षा नियन्त्रक श्रेष्ठले बताएका छन । दृष्टिविहीन विद्यार्थीले पढिरहेकै विद्यालयबाट परीक्षा दिन पाउने भएका छन ।

दृष्टिबिहिन परीक्षार्थीले भने आफू अध्ययन गरिरहेको विद्यालयबाटै एसईई परीक्षा दिन पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय दृष्टिविहिन स्रोत कक्षा सञ्चालन भएका विद्यालयका विद्यार्थीहरुका लागि सोही विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाइदिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us