काठमाण्डु, ७ चैत- नेपाली कांग्रेसका नेता डा .शेखर कोइरालाले र्वतमान सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै भएको बताएका छन् ।
मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनले सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताए ।
प्रचण्डजीको सरकार छ, १० वटा दल छ भनिन्छ । त्यो १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने, ‘नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । यो सरकारलाई राम्ररी चलाएर, देखाएर अगाडि बढ्न सक्छौं भन्ने विश्वास पनि हामीले लिएका छौं ।’
उनले भने आर्थिक रुपमा मुलुक कठिन अवस्थामा रहेको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि उनले बताए । ‘नेपाली कांग्रेस १–२ दिनभित्रै हामीहरु सरकारमा जाँदैछौं, अब नेपाली कांग्रेसलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ । कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु हुँदैन’, कोइरालाले भने, ‘यी सबै कुरालाई नेपाली कांग्रेसले अत्यन्तै गम्भीर किसिमले लिएका छौं ।
र त्यसलाई अगाडि बढाउने जिम्मा अबको कांग्रेसबाट जो नेतृत्व लिएर जानुहुन्छ उहाँहरुको जिम्मामा छ ।’संक्रमणकालीन न्यायलाई पूर्णता दिँदा पीडितको न्यायलाई हेर्नुपर्ने उनले बताए ।
यो विषयमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गम्भीर रुपले हेरिरहेको र सर्वोच्च अदालतले पनि विगतमा आदेश दिएको भन्दै कोइरालाले यी सबै कुरा विचार गरेर संसदमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी ऐन अगाडि बढाउनुपर्ने बताए ।