उपनिर्वाचनको विषयमा छलफल गर्न जसपाले बोलायो बैठक

काठमाण्डु टुडे २०७९ चैत ७ गते १६:५१ मा प्रकाशित

काठमाण्डु ,७ चैत- वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने भएको हो । बैठकमा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने बताइएको छ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा वैशाख १० गते प्रतिनिधिसभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा पार्टीले दिने उम्मेदवारीलगायतका विषयमा छलफल हुनेछ ।

साथै बुधबार बस्ने कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ ।

जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । अब कसलाई मन्त्री बनाउने र कति जना पठाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us