आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन सभामुखसँग पत्रकार महासंघको माग

काठमाण्डु टुडे २०७९ चैत ४ गते १५:३३ मा प्रकाशित

काठमाण्डु,४ चैत– नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ ।

महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको नेपाल पत्रकार महासंघले बताएको छ ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले जनाएको छ ।

महासंघले आज शनिबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद छ ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us