
काठमाण्डु, ४ चैत– संसदीय पत्रकार मामिला समाजले सभामुख देवराज घिमिरेले सञ्चारजगत र पत्रकारबारे तल्लोस्तरको टिप्प्णी गरेको भन्दै आपत्ति जनाएको छ ।
जनताको सार्वभौम थलो प्रतिनिधिसभाका सभामुखले मुलुकको हरेक राजनीतिक परिवर्तनमा अग्रमोर्चामा रहेर खरो उभिँदै आएको नेपाली सञ्चार जगतमाथि आरोपित गरेकामा समाजले खेद प्रकट गरेको हो ।
’ राज्यको .उच्च तहमा रहेका व्यक्तिबाट आफूले भनेजस्तो नहुँदा सञ्चारजगतलाई गाली गर्ने, तल्लोस्तरको व्यवहार गर्ने, विभिन्न निराधार आक्षेपहरु ल्गाउने गरेको तीतो अनुभव हामीले गरेका छौं’, समाजका महासचिव विष्णु खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारजगतलाई हेर्ने दृष्टिमा सम्माननीय सभामुखको यति तल्लोस्तरको सोचाई होला भन्ने हामीले कल्पनासमेत गरेका थिएनौं ।’
कानून निर्माणको सर्वोच्च थलो संसदका महासचिवको प्रेसजगतप्रतिको यस्तो धारणााले प्रतिनिधिसभाबाट प्रेसमैत्री कानून बन्न भन्नेमा समेत शंसय पैदा भएको ठहर समाजको छ । सञ्चार माध्यमले विगतमा खेलेको भूमिका स्मरण गराउँदै समाजले आरोप प्रमाणित गरेर देखाउन सभामुख घिमिरेलाई चुनौती दिएको छ ।
शुक्रबार आफूलाई बधाई दिन गएका नेपाल पत्रकार महासंघका पदाधिकारीसँग सभामुख घिमिरेले ‘नेपाली सञ्चार माध्यमले पित पत्रकारिता गरेको र पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्ति दिएका थिए ।’