लोकगायक राजेन्द्र लम्सालको शव काठमाण्डु ल्याइयो

काठमाण्डु टुडे २०७९ चैत ३ गते १३:२६ मा प्रकाशित

काठमाण्डु,३ चैत– आज शुक्रबार लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुर्‍याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

लम्सालको शवलाई आजै पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिएका छन ।

शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने उनले बताएका छन । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको छ । प्रतिष्ठानको युरोप शाखाका संरक्षक समेत रहेका लम्सालको २३ फागुनमा निधन भएको थियो ।

उनी पिसाबसम्बन्धी रोगबाट पीडित थिए । उनी कलाकार तथा मोडल सागर लम्साल बलेका बुवा समेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us