
काठमाण्डु, २५ फागुन– पूर्वएमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने भ्रष्टाचारी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले न्यौपानेसहित ९ जनालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद तथा २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रूपैयाँ जरिवाना तथा सोहीअनुसारको बिगो तोकेको जानकारी दिए । तत्कालीन समाजकल्याणमन्त्री न्यौपानेसहित १४ जनामाथि काठमाण्डुको भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा भ्रष्टचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ मा विशेष अदालतमा मुद्धा दायर गरेको थियो । जसमध्ये ५ जनाले चभने सफाइ पाएको भट्टराईले बताए ।
यस्तै समाजकल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रूपैयाँ जरिवानाको फैसला भएको छ ।
परिषदका तत्कालीन सदस्यसचिव रविन्द्र कुमारलाई ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८ सउ ३ रूपैयाँ जरिवाना, सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेलाई ८ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रूपैयाँ जरिवाना तथा जरिवाना जति नै बिगो तोकिएको छ ।
फनपार्क सञ्चालक रवीन्द्रकुमार गुरूङलाई भने कैद नगरी २ करोड ४३ लाख ६८ हजार ८ सउ ३ रूपैयाँ जरिवाना तथा जरिवाना रकमजति नै बिगो भराउन आदेश भएको छ । यस्तै काँग्रेस सांसद टेकप्रसाद गुरुङलाई १ करोड २१ लाख ८४ हजार जरिवाना तोकिएको छ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको पद हाल निलम्बनमा छ ।