विमानस्थलमा जफत गरिएका मोबाइल र मदिराबाटै पौने ३ करोड राजस्व

काठमाण्डु टुडे २०७९ फागुन २४ गते २१:३७ मा प्रकाशित

काठमाण्डु, २४ त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्किएका यात्रुसँग जफत गरिएका मोबाइल फोन र मदिरासहित करिब चार करोड रूपैयाँ बराबरका सामान लिलाम गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारी साधन, कपडा, खाद्यपदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट ३ करोड ८९ लाख ८१ हजार ५ सय ५७ रूपैयाँ राजस्व संकलन गरेको हो । यसमध्ये मोबाइल र मदिराको हिस्सा नै पौने ३ करोड रूपैयाँ बराबर छ ।
भन्सार कार्यालयका अनुसार ३३२ थान मोबाइल लिलाम बिक्रीबाट १ करोड ७३ लाख २६ हजार ७ सय ४ रूपैयाँ राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ । यी सबै मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएका हुन् ।

त्यस्तै, २ हजार ५ सय ५ थान मदिरा लिलामबाट कार्यालयले १ करोड ५ लाख ८६ हजार ६ सय ९७ बराबर राजस्व संकलन भएको जनाएको छ । सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिक लगायत मालवस्तु लिलाम बिक्रीबाट १ करोड १० लाख ६८ हजार १ सय ५६ रूपैयाँ संकलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए ।

कानुनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन । कानुनले तोकेभन्दा बढी संख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसङ लगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us