काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
०७६ साल १ माघमा काठमाण्डुको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने बताएका थिए ।
प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर कानुन व्यवसायी ज्ञानेन्द्रराज आरण र द्वन्द्वकालीन घटनामा पीडित भएकाहरुले रिट दायर गरेका हुन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । रिट निवेदक ज्ञानेन्द्रराज आरणले आफूहरुलाई परेको व्यक्तिगत चोटका आधारमा मुद्दा दायर गरेको पनि बताएका छन ।
उनले भने, ‘यसमा कुनै राजनीतिक दलको संलग्नता छैन, अदालतबाट जे फैसला हुन्छ हामीलाई त्यो स्वीकार्य छ’ उनले भने ।सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ ९दर्ता नहुने० आदेश गरेको थियो ।
त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार कानुन व्यवसायीहरु पुनस् रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । रिटप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
माओवादी महासचिव देव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या गरेर कारबाहीको विषय बनाइनुपर्छ भन्नु पूर्वाग्रही भावना भएको बताएका छन् ।