सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

काठमाण्डु टुडे २०७९ फागुन २३ गते ८:३१ मा प्रकाशित

दाङ, २३ फागुन– तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुईरचार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो । साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ,’ उनले भनिन् ।

शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि उनी पटकपटक कार्यालय पुगिन् तर कसैलाई पनि भेटाएकी छैनन् । ‘अफिसमा गए कोही भेटिनुहुन्न । फोन गर्दा साउनमा दिन्छौँ, भन्नुहुन्छ,’ उनले भनिन् ।

तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि छ हजार सो सहकारीमा बचत गरेका थिए । त्यही रकम लैजानका लागि धेरैपटक कार्यालय धाएको उनको भनाइ छ । उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनले बताए ।

आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो । अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो। बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us