बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

काठमाण्डु टुडे २०७९ फागुन १२ गते १०:३९ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी रहेका छन ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी भएका छन । बैठक राष्ट्रपति पदको निर्वाचनका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि छलफल गर्ने सहमति गरेको थियो । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूतिने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन ।

२५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us