
काठमाण्डु, १२ फागुन– राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न ४ मंसिरको निर्वाचनअघिको पुरानो गठबन्धनको बैठक बस्दैछ ।
काँग्रस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार साँझ सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बसेको माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरुको बैठकले राष्ट्रपतिको साझा उम्मेदवारबारे चार दलबीच छलफल गर्ने निर्णय गरेको थियो ।
जसपा नेता राजेन्द्र श्रेष्ठले कांग्रेसहित चार दलको बैठक सुरु हुन लागेको बताए । राष्ट्रपति निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । एमालेले १० पुसको सहमतिका आधारमा आफूले राष्ट्रपति पाउनुपर्ने अडान लिँदै आएको छ ।
तर, एमालेले विगतमा राष्ट्रपतिको दुरुपयोग गरेको र भविष्यमा समेत त्यस्तो सम्भावना रहेको भन्दै माओवादी केन्द्रले विकल्प खोजी गरिरहेको छ । यसअघि बुधबार राति बालुवाटारमा बसेको काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति गरेको थियो ।