
काठमाण्डु,९ फागुन– आज (मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता गरीएको छ ।
विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको हो । यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन ।
जहाजमा के समस्या देखिएको हो भन्ने नखुलेको उनले जानकारी दिएका छन । जहाज अहिले पार्किङ–वेमै रहेको छ । जहाज कम्पनीका इञ्जिनीयरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जानकारी दिएको छ ।